Read Time:7 Minute, 3 Second
“चौबिस घण्टा भित्र पदाधिकारी नियुक्त गर्नु ।“
नवनियुक्त प्रधानमन्त्री जुनियर कोइरालाबाट पहिलो आदेश जारी भो ।
“सँगसँगै अनसन पनि तोड्नु ।“
अनुरोधात्मक दोश्रो आदेश ।
जुनियर कोइरालाको युवा जोश । जोसिलो आदेश ।
अनसनरत डाक्टरसाप अनसन तोड्ने कि अझै जोड्ने अलि दुबिधामा थिए । सँगसँगै हडतालमा उत्रिएका त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु पनि डाक्टर अनसनसापको दुविधाले दुबिधामा थिए । काममा फर्कीहाल्ने कि कुर्ने भन्नेमा । तथापि इमर्जेन्सीमा फाट्टफुट्ट भेटिन्थे ।
त्यतिकैमा हाफ पाइन्ट र स्यान्डोमा एक भाद्र पुरुष सहयोगी सहित अस्पतालको इमर्जेन्सी बिभागमा प्रवेश गरे । तिनको बायाँ खुट्टा टेकिएको थियो भने दायाँ खुट्टा उचालिएको । दुईवटा हात दुईजना सहयोगीका काँधमा अंकमाल थिए । त्यसैको आडमा तिनी टेकिएको खुट्टा चल्मालाउदै हिडिरहेका थिए । उचालिएको खुट्टा कत्तिपनि चल्मलाउदैन थिए । प्रतिस्थापन गरिएका काठका डमी खुट्टा जस्तै ।
“हाडजोर्नी विशेषज्ञ कता ?”
दायाँ खुट्टामा चाल नभएपनि बोलीमा दम थियो उनको ।
इमर्जेन्सी कक्षमा प्रवेश गर्नासाथ भद्र पुरुषले सोधे ।
“समस्या के हो ? इमर्जेन्सी केस हो र ? पहिला टिकट काट्नोस !”
रिसेप्सनमा भनियो ।
उनि टिकट काट्न तयार भए ।
सोधियो -“नाम के हो ?”
“लामदेव“
“रामदेव ? योगीमहाराजको नाम रहेछ त ?”
टिकटकाउन्टरमा बसेकीले सोधिन ।
“ए नानि ! यत्रो अस्पतालमा काम गर्छ्यौ । कानमा समस्से हुँदाहुदै किन उपचार गर्दैनौ हँ ?” उनले सोधे ।
“के समस्या पर्यो ?”
“म लामदेव भन्दै छु तपाइँ रामदेव महाराज भन्नुहुन्छ । खाँटी गणतन्त्रबादी हुँ । कसरी हुन्छु रामदेव महाराज ?”
“तर रामदेव, बामदेव, कामदेव सुनेकी छु । लामदेव पहिलो चोटी सुन्दैछु । कसरी रह्यो यस्तो नाम ?”
“म सिधै लामबाट आएको त्यसैले मेरो नाम लामदेव ।“
“केको लाम ?”
“मन्त्रीको लाम । गृहमन्त्रीको ।“
“ठिक छ टिकट लिएर उ त्यो ढोकाभित्र छिर्नोस ।“
डाक्टरले सोधे -“समस्या के हो ?”
उनले भने -“मेरो भुइँमा खुटा हुनै छाड्यो ।“
“मेरो भुइँमा खुटा हुनै छाड्यो रे ? खुसी सेयर गर्न आउनुको ? अस्पताल त्यो ठाउँ होइन ।“
“कसले भन्यो खुसि सेयर गर्न आको भनेर ? समस्या परेर आको म । दायाँ खुट्टा अड्कियो यी हेर्नोस । टेक्नै नसक्ने गरी ।“
उनले ठडिएको खुट्टा देखाए । एकपटक त हाँसे डाक्टर । ठट्टै सम्झेर । खुट्टा समाते र झार्ने प्रयत्न गरे । सकेनन ।
“के भएको यस्तो ?”
“कुन्नी त ?”
“पोलियो हो कि ? बच्चामा थोपा खाएको थियो कि थिएन ?”
“पोलियो हैन । ओलियो होला । बच्चामा थोपा होइन । ठुलो भएसी धोका चै खाएको हो ।“
“के हो त्यो ओलियो भन्या ? यो समस्या कसरी र कहिलेबाट हिस्ट्री बताउनोस ।“
उनले ईतिहास फुकाए –
“ओलियो भन्या हाम्रो कामरेड । पार्टीमा बलियो । फेरी उनको बोलि गोलियो । अहिले मलाई चै गुलियो । कहिले मेरो तिनीसँग पन्जा लडाई कहिले चाँही छिर्की । उनीसंगको खेलमा कति पछारिए कति ।“
“भनेसी पछारिदा खुट्टा यस्तो भाको ?”
“होइन छैटौ महाधिबेशनमा हाम्रो घमासाम भयो । उनलाई बजाउन मैले यी यसैगरी खुट्टा उचाले । अनि उनले छले । त्यसपछी त ……….”
“त्यसपछी उचालिएको उचालियै भयो ?”
“होइन, भएन । त्यो झोकमा पार्टी फुटाएर मै–नाली कामरेड सँग बुर्कुसी मार्नेहुँदा चुनावमा बल्ड्याङ खाइयो र नालीमा उत्तानटाङ लागियो । अनि खुट्टा यहि कोणमा ठडियो ।“
“अनि टेकिएन ?”
“किन नटेकिनु हौ । मजाले टेकियो । मै–नाली कामरेडलाई त्यहिँ छाडेर ओलियो तिरै फर्किए । त्यसपछी ओलियो कामरेडले मलाई देखि नसहने । मेरो पालो पछिल्लो महाधिबेशनमा उठ्नै नसक्ने गरि पछारिदिए । अनि है, एकफेरा ठमेलको बाटोमा थिए । रात्रीकालिन मैयाहरुको हाउभाउले ठुलै तरंग पैदा गर्यो । त्यतै हेर्दै र सोच्दै गैरहेकोथिएँ । कुन चै बेवकुफले केराको बोक्रा बाटोमा फालेको रहेछ । चिप्लेर डङ्ग्रङै भएँ । खुट्टामा नराम्रो चोट लाग्यो ।“
“भनेसी त्यहि चोटको कारण यस्तो भयो ?”
“भएन । बरु त्यहि झोकमा रात्रीकालिन ब्यबसाय नै बन्द गरिदिएँ । र अन्त्यमा केहि समय अगाडी ओलियो कामरेड र मेरो अनौठो मिलन भयो । यहि अवसरमा उहाँलाई दलको नेता गिफ्ट दिइयो । उहाले मलाई “गृह” मागिदिने हुनुभो । म गृह प्रवेशको चाजो मिलाउन थाले । गृह प्रवेशका निम्ति खुट्टा उचाल्न थालेँ । खुट्टा उचालेको उचाल्यै थिएँ । उनीहरुले गृह नदिने भए रे भन्ने खबर आयो । खबरले मन चोर्याक्कै चर्कियो । चर्किएको झड्का शरीरभरि संचार भयो र त्यो उचालेको खुट्टामा नि पुग्यो । अनि के असर पुगेछ कुन्नी उचालेको खुट्टा उचालेको उचाल्यै भयो ।“
ओहो अनि किन स्यान्ड़ो र हाफ पाइन्टमा मात्रै त । कहाँको नि सप्पै सरसामान लत्ता कपडा गृह प्रवेशका लागि सारीसकियो । अरु कपडा बाँकी भए पो लगाउनु ?”
सबै हिस्ट्री सुनिसकेसी डाक्टरले भने -“तपाइको समस्या अलि जटिल किसिमको रहेछ । त्यसैले यसको उपचार फिजिसियनले गर्न सक्दैन । त्यसैले म तपाइँलाई तपाइको पार्टी वा सहयात्री प्रधानमन्त्रीको दलको पोलिटिसियन कहाँ रिफर गर्दछु ।“