Read Time:4 Minute, 25 Second
कसैले गुलिया चकलेट भन्लान । कसैले कुखुराको मासु । कसैले जेरी, पुरी, तरकारी त कसैले टिम्बुर हाल्या गोलभेडाको अचार । कसैले भन्लान स्वाद भन्या स्वाद त बिदेसी मदिरा र चिकेन रोस्टमा छ । मान्छे अनुसारको रुची । फरक फरक स्वाद । कसैलाई के स्वादिलो कसैलाई के । तैपनि संसारको सबैभन्दा स्वादिलो कुरा के होला ? उत्तर फरक फरक होलान कुन स्वादमा कसको रुची छ भन्नेमा ? तर जे नै भनुन संसारको सबैभन्दा उम्दा स्वाद त सपथकै होला । किनकी संसारका ठुलाबडाहरु सपथ खानकै लागी मरिहत्ते गर्छन । संसारमा जति भिडन्त र मारकाट भएका छन ति सबै सपथ खानकै लागी भएका छ । पदको सफथ जो स्वादको पनि स्वाद हो जसलाई महास्वाद भन्दा नि फरक पर्दैन होला । यो स्वादको दाजोमा अरु सारा स्वाद तुच्छ बनिदिन्छ ।
बास्तवमा सपथ राजनीतिक मेनुको यस्तो परिकार हो । जो सितिमिति कहिँ पाइन्न । फाइव स्टार को नकुरा गरम हजार स्टारे होटलमै जाम कतै मेनुमा यो परिकार भेटिन्छ । यो परिकार आर्जन गर्न जीवन भर शंघर्ष गर्नु पर्छ । अनेकौ युद्द र बबण्डर मच्चाउनु पर्छ । चुनाव लड्नु पर्छ यति गर्दा नि पुर्पुरामा लेख्या छैन भने त कहाँ पाइन्छ र ? तै पनि हाम्रो मुलुकमा अहिले चै सपथ खान केहि सजिलो भएको छ । किन कि यो परिकार खान अहिले चुनाव नै लड्नुपर्छ भन्ने छैन । मोटो रकम तिरेर पार्टीहरुबाट सपथ खरिद गरि खान सकिन्छ । तर यो कम्ता महँगो छैन । यो चार मिनेटमा खाइसकिने परिकारको मूल्य ४-५ करोड पर्छ । यसरी हेर्दा संसारको सबैभन्दा महँगो परिकार नि सपथ नै होला ।
यसपाली पनि राजनितीमा लागेकाहरुले त चुनाव जितेर सपथ खाने नै भए । नलागेका धनाड्यहरुले सपथ किनेर खाए । र अस्ति मंगलबार आफ्ना पोसाकमा आफ्ना भाषामा र आफ्नै पारामा उभिएर संबिधानसभामा एउटा बिशाल संख्यामा सपथ खाए ।
पैले पैले सपथ सबैले ईश्वरका नाममा सपथ खान्थे । जनआन्दोलन पछी आफुलाई सपथ खाने स्तरसम्म पुर्याएका जनताका नाममा सपथ खानेहरु नि देखिए । सपथ त्यो परिकार हो जो आफुले बफादारीता देखाउनु पर्ने प्रति खाँदा ज्यादा टेसिलो हुन्छ । तै पनि यसपाली पनि सबैले इश्वर र जनताकै नाममा सपथ खादा सभासदले त्यति स्वाद पाएनन जस्तो लागिराछ । यसो हो भने कसले कसका नाममा सपथ खाएका भए बढी स्वाद आउथ्यो होला ? एक फेरा चर्चा गरम न ।
कसैले मन्दिरमा बोका चडाउने भाकल गरेर सभासद बनेका छन भने बोकाको नाममा सपथ खानु । धोकाधडी गरेर सभासद बनेका छन भने धोकाको नाममा सपथ खानु । धर्मको नाममा राजनिती गर्नेले चिम्टाको नाममा सपथ खानु । जातको नाममा राजनिती गर्नेले जनै र लागौटिको नाममा सपथ खानु । चरापालेर जित्नेले चरीको नाममा सपथ खानु । माओबादी कामरेडहरुले सपना उडाउने बतासको नाममा सपथ खानु । आफुलाई उछिन्न्न दायाँ बायाँ लागेका रामचन्द्र र देउवा हेर्दै सुसिलदाले हतासको नाममा सपथ खानु । ब्रिफकेश बुझाएर सभासद बन्नेले ब्रिफकेसको नाममा सपथ खानु । आर्ज्युले पतिदेवको नाममा सफथ खानु । जुनियर थापाले पिताको नाममा सपथ खानु | स्वाद यसमा पो छ त सपथको ।