Read Time:3 Minute, 20 Second
जब प्रचण्डलाई डर लाग्छ तब तब रोल्पा जानुहुन्छ । पहिले उहाँलाई राज्यसँग डर थियो । रोल्पा जानुभो र बंकर बनाएर बस्नुभो । समयले कोल्टे फेर्यो । परिवर्तनले राज्य अनुकुल भयो । काठमाडौँ फर्किनु भो । पहिलो संबिधानसभाको चुनाव आयो । पहिले राज्यको बुलेटसँग आतिराको, सोच्नुभो -“यो ब्यालेट भन्ने चिज पनि त्यस्तै अजंगको जन्तु होला हगी ?” लौ बितायो भन्दै रोल्पा हानिए । त्यसबेलाको रोल्पा हनाइ उहाँलाई झन् फाप्यो । ब्यालेट उहाँको बिरुद्द पड्किएन बरु झन् दाइना भएर आयो । बकुन्द्र मत आयो । प्रम चिट्टा पारे । अब डर सकियो रोल्पा जानु परेन । डर सक्कियो ।
तर हातको परेको जिनिस के गर्ने उहाँलाई थाहा भएन । राष्ट्रपतीमा ठोक्नु भो, सेनापतिमा ठोक्नुभो, पशुपतिमा ठोक्नु भो अनि फाल्दिनु भो । पशुपतिको बाँदर किच्च हाँसे, सकियो । फालेको चिज अर्कैले टिप्यो, लग्यो । घुर्की धम्कि देखि ललाई फकाई अनेक तिकडममा नि प्राप्त भएन । त्यहि तिकडममा कुद्दा कुद्दा संबिधानसभा नि नरिवल सावित भो । त्यो पनि फालियो ।
फेरी अर्को चुनाव भो । उहाँलाई अब डर थिएन । अब किन रोल्पा जाने ? चुनावमा उत्तान्टाङ हुनुभो । फालेको नरिवल किन हात पर्थ्यो अर्कैले लिएर हिड्यो । अर्काको हातको नरिवल किन उनको इच्छा अनुसार चल्थ्यो ? उनीहरुकै मजामा चलाउन थाले । अब पर्यो फसाद । संबिधान बनाउन पर्ने संबिधानसभा नरिवल बनाई अर्काकै हातमा छ । आफुले देखाएको सपनाको पहिरो आफुमाथी खस्दैछ । अर्काले सम्बिधानै बनाए नि त्यसले के थेग्थ्यो । पहिलेको राज्य भन्दा डर उहाँलाई अहिलेको जनतासँग भो । र फेरी रोल्पा चाल्नुभो । पुराना बङ्कर नियाल्न थाल्नुभो ।
उहाँ यसरी डराएको देख्दा उहाँले डरैलाई पनि नरिवल बनाउन लागेको झैँ लाग्दैछ । जनमतलाई नरिवल बनाइयो स्थिती बिग्रियो । संबिधानसभालाई नरिवल बनाइयो, स्थिती झन् बिग्रियो । अब डरलाई चै नरिवल नबनाए हुने । डरलाई डर नै बनाएर त्यसलाई त्यसलाई संबिधान निर्माणमा लगाए हुने । नत्र “बाँदरको हातमा नरिवल” भने झैँ “प्रचण्डको साथमा जुनै चिज” भन्ने उखान चल्न के बेर ? तर जे होस् आखिर प्रचण्ड जसरी चले नि चल्ले चै भए है भोलिको पुस्ता सम्म । या त इतिहासका पानामा राजनेता भएर या त नेपाली कितापको पानामा उखानको पात्र भएर ।