Read Time:5 Minute, 19 Second
पत्याउनोस् ! नपत्याउनोस् !! काठमाडौं उपत्यकामा लोडसेडिङ हटेको छ । यसो हेर्दा हो पनि जस्तो छ । अचेल बत्ति नै गएको छैन । पटक पटक चिमोटी हेर्दा पनि बिपनै हुन्छ । अचम्म केहिदिन यता बत्ति नै गएको छैन ।
“ए के उल्का हो ?” भनि सोध्यो भने भक्त अनुसार फरक फरक भगवानले नाम आउँछ, तिनल्यै हटाएको भनि । ‘लोडसेडिङ कसरी हट्यो ?’ भन्नेमा अहिले फरक फरक किम्बन्ती बजारमा छन् ।
१) लोडसेडिंङ प्रचण्डले हटाउनु भो ।
प्रचण्डपथीय विद्वानहरु लोडसेडिङ कामरेड प्रचण्डले हटाएको मान्यता राख्छन् । प्रचण्ड पुराण अनुसार प्रचण्ड स्वयंले पटक पटक चमत्कार गर्ने, अब चमत्कार हुने कुरा गर्दै आउनुभएको थियो र छ l यसै अन्तरगत उहाँले प्रधानमन्त्री भएसी छुमन्तर गरिदिनु भो । उहाँको छुमन्तरको प्रभावले चमत्कार भयो । त्यसै चमत्कार अनुरुप नदीमा बहाव बढ्न थाले । बिग्रेका आयोजनाहरु आफसेआफ बन्न थाले । सद्दे आयोजनाबाट क्षमताको दोब्बर तेब्बर बिजुली उत्पादन भए । त्यसपछि प्रचण्ड कामरेडले लु लोडसेडिंग हटाउनु भनेर फ्याट्ट उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका एमडी कुलमान घिंसिंगलाई निर्देशन दिनुभो । निर्देशनकै प्रभावले लोडसेडिङ हट्यो ।
२) हैन केपी ओलीले हटाउनु भयो ।
ओली सम्प्रदायका मान्छेहरु भने लोडसेडिङ हट्नुमा ओली कामरेडको हात रहेको बिश्वास राख्दछन् । यो चराचर जगतमा उन्नती, प्रगती वा जे जे परिवर्तन हुन्छ ति सबै ओली कामरेडकै सपनाको देन हो । एक दिन कामरेड पुलाउ खाएर सुत्नुभएको थियो । त्यसै बेला कैलाश गएर कठोर तपस्या गरेको सपना देख्नुभएछ । नित्य १ हजार बर्ष सम्म दायाँ आँखा चिम्लेर, बायाँ कान थुनेर । दायाँ नाकको प्वालमा रूओ खाँदेर, बाँया हात उठाएर, दायाँ खुट्टो उचालेर तपस्से गरेको देखेपछी भगवान प्रत्यक्ष हुनुभएछ र भन्नुभएछ – “हे कामरेड ओली ! तपाइको तपस्सेले म प्रसन्न भएँ । के माग्नुपर्छ माग्नुस् !
त्यसपछि के माग्ने भनि बिचार गर्दा आफु पनि प्रधानमन्त्री भैसकेको र विद्याजीलाई नि राष्ट्रपति बनाइसकेकोले माग्ने चै के भनि एकछिन त अलमल्लै पर्नुभएछ । अलमलको अलमलमै फ्याट्टै मुखबाट “एक बर्ष भित्र काठमाण्डौबाट लोडसेडिंग खलाँस होस् !” भन्ने निस्केछ । भगवान तत्काल तथास्तु भन्दै अन्तर्ध्यान हुनुभएछ । त्यसपछि उँहाले ब्युझेरै पनि एक बर्षभित्र लोडसेडिङ हट्छ भन्नुभाथ्यो । यो सब ओली कामरेडकै सपनाको प्रभाव हो ।
३ ) हैट ! हटाका त कुलमानले पो त !
नेपालमा अर्का यस्ता सम्प्रदायका मान्छे छन् । जो हरेक घटनामा एउटा ढुंगा थापेर अबिर केशरी दलेर देउता जन्माईहाल्छन् । यो सम्प्रदायका मान्छे चै भर्खर अबिर केशरी दलिएका एमडी कुलमा घिसिङले लोडसेडिंग हटाएको मान्यता राख्छन् । जब कुलमानजी एमडीको कुर्सीमा थ्याच्च बस्नुभो त्यसको तरंगले लोडसेडिंग हटाउन चाहिने आधा बिजुली चै उत्पादन भैहाल्यो । एकदिन कुलमानजी प्राधिकरण परिसरमा टहलीइ रहनुभएको थियो । माटाको ढिस्कामा ठ्यास्स ठेस लाग्यो । ठेस लाग्दा टुंग आवाज आएकोले के रैछ त भनेर खोतली हेर्दा बिजुली भरिएका बढे बढे तामाका घ्याम्पाहरु फेला परे । यसरी लुकाइएका घ्याम्पाका घ्याप्पा बिजुली फेला परेसी लोडसेडिंग हट्यो ।
४) कुरा नि के गर्या हुन् ? लोडसेडिंग त महेन्द्र सर्खारले हटाका हुन् ।
एकखाले ‘राष्ट्रबादी’ लाइनका अनौठा प्राणीहरु छन् । जो अझैपनि हार्मोनियम भिरेर महेन्द्रमाला गाउँदै हिडेका देखिन्छन् । यी फिरन्ते प्रजाती चै लोडसेडिंग पनि ‘महेन्द्र सर्खार’ले हटाइदिएको मान्लान् । किन कि यहाँ महिन्द्र सर्खारको अनुकम्पा बिना क्यै हुन्न । यसपाली महेन्द्र मंजिलको बिजुली काटिएको सुनेर उनले परलोकबाट बिजुली पठाईबक्स्यो र लोडसेडिंग पनि हट्यो ।