Read Time:10 Minute, 3 Second
अचेल उल्का हुन थाल्या छ। देशमा समृद्धि आउन लागेका लक्षणहरु भटाभट देखिन लाग्या छन्। उहिले गाममा भर्खर मुटरबाटो आम्दा बान्द्रेको डिलबाट पिँ~पिँ~प गरेर बस कराए झैँ, अहिले डाँडाँ पारीबाट समृद्धिको हर्न सुन्न थालिएको। मन उसै उसै काउकुतिएको छ। दिलमा खुसी सल्किएको छ। जिन्नकी गुँइठा बाल्या चुलो तर्काउने चिम्नी झैँ भा’छ। उमंग उसैउसै पुत्पुताइरहेको छ। कस्सम, यस्तो हर्क त इतिहासमा कहिल्यै भएको थिएन भनेर कुन चैं तर्कले पुष्टी गरम ? सम्रिद्धि आइ नै सकेको छ।
समृद्धि हेर्न ठुल्ठुला भ्यू- टाउरहरु बन्न थालिसकेको छ। तिब्र रुपमा आइरहेको समृद्धिलाई तत्काल आवास उपलब्ध गराउन केही समयअघि चिनका विदेशमन्त्री आउँदा ५००० थान त्रिपाल मागिसकिएको छ। चीनले नि ‘हुन्छ दिन्छु’ भनिसकेको छ। यसरी तत्काल आवासको व्यवस्था गरिसकेसी भारतसँग कम्बल मागिन्छ। यतैका दाताबाट आन्तरिक श्रोत जुटाएर समृद्धिलाई भोजनका लागी दुई बाक्सा वाइवाई चाउचाउ र ४-५ किलो दालमोठको व्यवस्था गरिनेछ। अनि दाता सम्मेलन गरिन्छ। मनकारीहरुबाट रकम र आश्वासन संग्कलन गरिनेछ। समृद्धिलाई घर बनाउन प्रति परिवार ३ लाखका दरले राहत प्रदान गरिनेछ। बाकीँ रकम आफैले थपथाप गरेर समृद्धिले घर बनाइ बस्नेछन्।
बिच्च बिचमा एनारेनका दधिचीहरुले समृद्धिको इपिसेन्टर सुपर जिल्ला झापामा समृद्दीका लागी आवास बनाइदिने ठेक्का लिनेछन् । धुर्मुस सुन्तलीले नि एक थान नमुना सम्रिद्धि वस्ती निर्माण गरिदिनेछन् । सरकार पनि एक प्रकारले ठुलो धुर्मुसे नै हो। बाकीँ अपुग जे छ मागमुग गरेर, चन्दासन्दा उठाएर व्यवस्था गरिदिने छ।
यो त समृद्धि आइसकेसीको व्यवस्थापन हो। अब भन्नुहोला सम्रिद्धि आउँछ चै कसरी ? सम्रिद्धि आउनै लाग्यो भनि ठोकुवा गर्ने आधार के छन् ? सवैभन्दा दरिलो, झरिलो आधार भनेको साक्षात ओली सरको सरकार छ – अरु क्यै कारण न आए नि उहाँको चुटकिला सुन्न भने पनि आउँछ। सरकारले नेपाल भ्रमण बर्ष घोषणा गरेको छ। योगेश कामरेडले फेसबुक प्रोफाइल फुटोमा भिजिट नेपालको लोगो हाल्नुस भन्नु भएको छ। त्यो लोगो हेरेरै भए पनि – एक खेप नेपाल घुम्दिम् न त भनेर भए पनि आउँछ।
घुम्दिम न त भन्ने पनि कारण छ, गैडा हेर्न नेपालमै आउन पर्छ। अन्त त्यस्तै त्यस्तै लाग्ने कुनै जिव भए पनि ति राइनो हो। अन्त गैंडा पाइदैन। त्यो भनेको गैंडा हेर्न नपाएको रोइलो अपभ्रंस भएर रोइनो हुँदै राइनो भएको हो। त्यसकारण राइनो भन्ने हुँदै हुँदैन। हुने भनेको गैंडा हो। त्यो हेर्न नेपालमै हो। जिन्दगीमा गैंडा नै देखेको छैन भने त्यो जिन्दगी बेकार हो भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ। तसर्थ जिन्दगी सार्थक बनाउन गैंडा हेर्न भनेपनी एकफेरा सम्रिद्धि नेपाल आउँछ , आउँछ।
अर्को कुरा समृद्धिको जिउ दुख्ने व्यथा हुन सक्छ। त्यो व्यथा अरिंगालको मह काडेर मालिस गर्दा विसेक हुने विस्वास पनि त हुन सक्छ समृद्धिको । यहाँजस्तो अरिंगालको बथान अन्त कहाँ पाइन्छ ? त्यसैले मेडिकल पर्यटनको लागी पनि सम्रिद्दी आउँछ। अरु त अरु, चीनकै राष्ट्रपती त आउने पक्का भैसक्यो भने जाबो सम्रिद्धि आउने पक्का हुन कुन ठुलो कुरा हो र ?
सम्रिद्धिको लागी मार्ग प्रसस्त भैसकेको छ। यस्तो शक्तिशाली सरकार छ। सरकारको असिमित शक्तिबाट बिजुली निकाल्ने सम्भाव्यताको अध्यान गर्न पनि सम्रिद्धि आउँछ। सम्रिद्धि लागी अनुकुल वातावरण बनाउन पनि सरकारले प्रयत्न गर्न थालिसकेको छ। सम्रिद्धिलाई भोक मन पर्दैन भनेर ‘कुनै नेपाली भोको बस्न पर्दैन’ भनेर प्रधानमन्त्रीले घोषणा गरिसक्नु भएको छ। ‘कोही मान्छे मागीहिड्नु पर्दैन’ भनेर घोषणा गरिसकिएको छ। यति गरीसकेसी पनि कोही भोको देखिएमा त्यो ब्रत हुनेछ। यति गरिसकेसी पनि कोही मागिरहेका देखिएमा त्यो माग्नेकै दोष हुनेछ। खुला ठाउँमा पिछ्बाडा पसारेर टुसुक्क बसेकाहरु देख्दा सम्रिद्दीलाइ बिरक्त लाग्छ भनेर देशलाई खुला दिशामुक्त गरिसकिएको छ। यससँगै देशको परिचय नै फेरिएको छ। अस्तिसम्मको ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ अब ‘संघीय लोकतान्त्रिक खुला दिशामुक्त (खुदिमु) गणतन्त्र नेपाल’ बनेको छ।
नेपाल ‘खुदिमु’ बनिसकेसी जनताले ठुलो राहत पाउनेछन्। जहाँ पायो त्यहिँ निस्कासनको प्रवन्ध नहुँदा मानिसहरुले अड्कलेर सौचालयसम्मको दुरी ख्याल गरेर मात्रै खान्छन् । यसले गर्दा देशको खाध्य बचत ह्वात्तै बढ्छ। खाध्य बचत बढ्दा बिदेशबाट खाध्यपदार्थहरु आयात गर्नुपर्दैन। देश खान्कीमा आत्मनिर्भर बन्छ। बचेको खाद्यान्न बिदेश निर्यात गर्न सकिन्छ। यसले देशको आम्दानी बढ्छ। देशको आम्दानी बढ्दा बिकाश निर्माण गर्नलाई पैसा हुन्छ। पैसा पर्याप्त भएपछी बिकाश निर्माण सहज हुन्छ।
यसोहुँदी बाटोघाटो पुल पुलेसा देखी राजमार्ग, रेलमार्ग बनाउन बिदेशी गुहार्न पर्दैन। बिदेशी गुहार्न नपरेपछी देशको आत्मसम्मान ह्वात्तै बढ्छ। यसलेगर्दा हामीहरु सम्मानित देशका नागरिक हुन्छौ। पर्याप्त सौचालय नबनी खुदिमु घोषणा गर्दा सौचालय नपुग्दै कपडा भित्रै पाचन प्रणालीको साङ्घे हुने सम्भावना बढ्छ। यसले गर्दा कपडाको माग बढ्छ। कपडाको माग बढेपछी त्यसको पुर्ती बढाउनकालागि कपडा उद्योग खुल्न थाल्छन् । कपडा उद्योग बढेपछी रोजगारीको अवसरहरु बढ्छन् । रोजगारीको अवसर बढेपछी युवाहरु विदेशिने क्रम हट्छ। जुझारु युवाहरु देशमै खट्दा- राष्ट्र निर्माणमा ठुलै योगदान पुग्छ। बिदेशमा कामगर्नेहरु यतै आउन थालेपछी उताको सम्रिद्धि पनि के बिरक्तिएर बस्नु भनेर यतै आउँछ।
यसो बिचार गरिल्याउदा त- सरकारको दुरदर्शिता देख्दा पनि गज्जब लागेर आउँछ। दिसा गर्नै सहज रुपमा नपाएसी दिसाबाट फैलिने रोगहरु स्वाट्टै घट्छन, झाडापखाला, आउँ जस्ता रोगहरु इतिहास बन्नेछ। खासमा मुलुकलाई खुला दिसामुक्त भन्दा नि दिशा मुक्त नै गर्नुपर्थ्यो सरकारले। सौचालयको नि आवस्यकता नै पर्ने थिएन। हुन त यो अलि गाह्रो होला। तर जाबो दिसै रोक्न नसक्ने के दुई तिहाइ सरकार ? खैर, केहि छैन। दिसा र विपत कुन बेला आउँछ भन्ने थाहा हुन्न। यो पनि हामी माथी कृपा नै गरिदिएको हो सरकारले। ‘खुला दिसा मुक्त’को ठाउँमा ‘दिसा मुक्त’ नै गर्दिएको हो भने त, लाग्दा लोटा बोकेर रक्सोल तिर लाग्नु कि तातोपानीतिर ?
सरकारको यो सत्कर्मको बिरोधमा ‘गणतन्त्र विरोधीहरु’ सल्वलाउन सक्छन्। उहिले दिसा लाग्नासाथ बाटोकै बाटो छेउ टुसुक्क बस्न पाइन्थ्यो । अहिले किन नपाउने ? तर सरकार बहकिनु हुन्न यस्ता कुरामा । किनकि सम्रिद्धि आउन लागेको लक्षण नै यो हो कि – देश दिसाहीन, सरकार दिशाहीन !
x